दमाैली, ३ वैशाख । तनहुँको व्यास नगरपालिका–१२ स्थायी घर भई हाल भिमाद नगरपालिका–८ बस्ने ५५ वर्षीय मङ्गल गिरीको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–७ टुडा बस्ने २१ वर्षीय अमन गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने १८ वर्षीय रुपेश क्षेत्री र व्यास नगरपालिका–१२ छिर्कने बस्ने १८ वर्षीय विजय गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।
निजहरुविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको थापाले बताए ।
गत वैशाख १ गते बिहान ६ः३० बजे शुक्लागण्डकी नगरपालिका–७ टुडा जाने बाटोमा टाउकोमा चोट लागी मृत अवस्थामा गिरीको शव भेटिएको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घटनासम्बन्धमा अनुसन्धान सुरु गरेकामा मृतकको पहिचान खुलेको थियो ।
प्रहरी नायब उपरिक्षक थापाले भने, “पक्राउ परेकाहरुले ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरी आवश्यक कारवाही अगाडी बढाएका छौ ।”