सिसाखानीमा गिटी–माटो उत्खनन सुरु, स्थानीयवासी आन्दोलित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिसाखानीमा गिटी–माटो उत्खनन सुरु, स्थानीयवासी आन्दोलित

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८२, आईतवार

    दमौली, २५ जेठ। भिमाद नगरपालिका–७ स्थित सिसाखानीमा गिटी–माटो उत्खनन सुरु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। विद्यान जोशीको स्वामित्वमा रहेको निजी जग्गामा नगरपालिकाको स्वीकृतिपछि क्रसर उद्योगले उत्खनन कार्य सुरु गरेको छ। तर, यसले वातावरणीय असर, धुलो, ध्वनि प्रदूषण र भौगोलिक असुरक्षाको कारण देखाउँदै स्थानीयहरूले तीव्र विरोध जनाएका छन्।

    भिमाद नगरपालिकाले शिवशक्ति ढुङ्गा, रोडा, बालुवा क्रसर उद्योग प्रा.लि. लाई कानुनी प्रक्रिया पूरा गरेर उत्खननको अनुमति दिएको बताइएको छ। उद्योगले हाल एकवटा एक्साभेटर र ६ वटा टिपर प्रयोग गरेर गिटी तथा माटो निकाल्ने कार्य गरिरहेको छ।

    तर, स्थानीयवासीहरू यो प्रक्रियाबाट सन्तुष्ट छैनन्। स्थानीय शिलु ढकाल भन्छिन्, “पहिल्यै यस्तै उत्खननका कारण पहिरो गएको थियो। अहिले त हाम्रो गाउँ धुलो र हल्लाले भरिएको छ।” उनले नगरपालिकामा पटक–पटक निवेदन दिए पनि कुनै सुनुवाइ नभएको बताइन्।

    अर्का स्थानीय केशव ढकाल भन्छन्, “उत्खनन सुरु गर्दा न त स्थानीयसँग सहमति लिइयो, न त वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) नै गरियो।” उनका अनुसार, ४० घरधुरी उत्खननको प्रत्यक्ष प्रभावमा परेका छन्।

    यस विषयमा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले भने, “गत वर्ष नै स्थानीय सरोकारवालासँगको छलफलपछि अनुमति दिइएको हो। सबै प्रक्रिया पुरा गरेर मात्र स्वीकृति दिइएको छ।” उनका अनुसार, उद्योगले आवश्यक राजस्व तिरेको छ र कानुन अनुसार उत्खनन भइरहेको हो।

    हाल स्थिति नियन्त्रणमा राख्न प्रहरी समेत परिचालन गरिएको छ। नगरप्रमुख सुवेदीले समस्या समाधानका लागि स्थानीयवासीहरूसँग छलफल गर्न तयार रहेको बताएका छन्।

    उत्खननले वातावरण र जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरबारे विशेषज्ञहरूले पनि चासो व्यक्त गरिरहेका छन्। यस क्षेत्रको उत्खनन विषयमा स्थानीय सरकार र बासिन्दाबीच आपसी सहमतिको खाँचो देखिएको छ।