दमौली, २७ जेठ । पृथ्वीराजमार्गस्थित थर्पुबाट २५ मिनेटको कच्ची यात्रा गरेपछि पुगिन्छ मनपाङ गाउँ । समुन्द्री सतहबाट एक हजार ५० मिटरमा उचाइमा अवस्थित मनपाङबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वीराजमार्गको चार लेन सडक, सदरमुकामस्थित दमौली बजार, शुक्लागण्डकीका विभिन्न ठाउँका मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
पर्यटनको प्रचुर सम्भावना बोकेर पनि यस ठाउँ ओझेलमा परेपछि यहाँका स्थानीयवासी घरबास सञ्चालनमार्फत् यस ठाउँको प्रबद्र्धनमा जुटेका छन् । म्याग्दे गाउँपालिका–६ मनपाङमा सुरुवाती चरणमा आठ घरमा घरबास सञ्चालन गरिएको छ । गुरुङ बस्ती रहेको मनपाङमा २० घरधुरी रहेकामा पहिलो चरणमा आठ घरमा घरबास सञ्चालनमा ल्याइएको मनपाङ सामुदायिक घरबासका अध्यक्ष सोनी गुरुङले जानकारी दिइन् ।
घरबासमार्फत् आयआर्जन गर्नुपर्छ भनेर पालिकाले प्रोत्साहन गरेपछि आफूहरु यसतर्फ लागेको उनले बताइन् । उनले भनिन्, “शहर र गाउँलाई जोड्न घरबास सञ्चालन गरेका छौ । भर्खरै सुरुवात भएकाले आन्तरिक पाहुना आउने क्रम भइरहेको छ । यसको थप प्रबद्र्धन हुन आवश्यक छ ।”
गर्मी महिनामा पनि शितलताको अनुभव, यहाँबाट देखिने दृश्यावलोकनले यहाँ आउने पाहुनालाई लोभ्याउने उनको विश्वास छ । उनले भनिन्, “यहाँबाट धेरै ठाउँ देख्न सकिन्छ । शहरमा गर्मी हुँदा पनि मनपाङ गाउँ उक्लिएपछि शितलाको अनुभव लिन सकिन्छ ।”
घरबासका सञ्चालक दिलबहादुर गुरुङका अनुसार घरबासमा एक रात बसेको रु एक हजार दुई सय प्याकेज तोकिएको छ । राति आउने पाहुनालाई स्वागतसँगै गुन्द्रुक, भटमास, मकै दिने गरिएको छ भने प्याकेजमा रातिको खाना, बास र बिहानको खाजाको व्यवस्था गरिएको छ । उनले भने, “हामी घरबासलाई व्यवस्थित गर्दै पूर्वाधार थप्ने क्रममा छौ । उहाँका अनुसार घरबासमा ३० जनाको क्षमता रहेको छ ।
म्याग्दे गाउँपालिका–६ का वडाध्यक्ष हिरालाल गुरुङले मनपाङ बाइसे चौबिसे राज्यको पालाको एउटा कोट भएकाले यसको प्रबद्र्धनका लागि आफूहरु क्रियाशील रहेको बताए । उनले भने, “यस ठाउँमा पर्यटक कसरी ल्याउने भनेर छलफल हुँदा घरबास उपयुक्त रहेको पायौ । घरबास सञ्चालन गरेर यहाँ पाहुना भित्र्याउने तयारीमा छौ ।”
मनपाङमा थानीमाई मन्दिर, कालभैरव मन्दिर समेत छ । धार्मिक रुपमा समेत यस ठाउँ प्रख्यात रहेको उनको भनाइ छ । नवमीको दिनमा थानीमाइ मन्दिरमा विशेष पूजा लाग्ने गरेको छ ।
मनपाङबाट चारैतिरको दृश्य हेर्नका लागि तीन वटा दृश्यावलोकन विन्दु बनाइएको छ । दृश्यावलोकन विन्दुसम्म पुग्नका लागि ढुङ्गा छापेर पैदलबाटो निर्माण गरिएको छ ।
मनपाङसम्म पुग्ने बाटो कच्ची भएकाले बाटोको स्तरोन्नतिका लागि काम भइरहेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । पालिकाको समपुरक कोषबाट रु एक करोड बजेट विनियोजन भइ बाटोको स्तरोन्नतिको काम भइरहेको उनले बताए ।