दमाैली, २९ जेठ । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले विद्यालयहरुमा विपद् नमूना अभ्यास प्रदर्शन गरेको छ । गणले जिल्लास्थित विभिन्न विद्यालयमा मनसुन पूर्व तयारी सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै विपद् नमूना अभ्यास प्रदर्शन गरेको हो ।
गणले हालसम्म म्याग्दे गाउँपालिकास्थित मिन माध्यमिक विद्यालय, राधा माध्यमिक विद्यालय, व्यास नगरपालिका–५ चापाघाटस्थित शान्तिवर्ष आवासीय माध्यमिक विद्यालय, ऋषिङ गाउँपालिका–१ झापुटारस्थित शुक्ला माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम गरेको गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।
गणले विद्यार्थी र शिक्षकलाई लक्षित गरी मनसुन पूर्व तयारी सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै विपद् नमूना अभ्यास प्रदर्शन गरेको उनले बताए ।
त्यसक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीलाई मनसुनका क्रममा हुन सक्ने क्षति र क्षति न्युनीकरणका लागि अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको कार्कीले बताए। विशेषगरी नदीमा आउने बाढी र बाढीबाट बच्न गर्न सकिने उपायका बारेमा जानकारी गराइएको प्रमुख सेनानी कार्कीले बताउनुभयो । त्यसक्रममा विपद्का बेला प्रयोग गरिने सामग्री प्रदर्शन गरिएको थियो ।