दमाैली, ३१ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सञ्चालन गरेको ट्राफिक सप्ताहबाट ४४ हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । गत जेठ २५ गतेदेखि सुरु भइ आज समापन भएको सप्ताहका क्रममा ४४ हजार सात सय ४९ जना प्रत्यक्ष लाभान्वित भएको कार्यालयले जनाएको छ ।
सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक छ सय ८५ कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरीक्षक कृष्ण चन्दले जानकारी दिए । त्यसक्रममा अप्रत्यक्ष रुपमा ९० हजार जना लाभान्वित भएको उनकाे भनाइ छ ।
ट्राफिक सप्ताहका क्रममा सञ्चालित सतेनामूलक कार्यक्रमबाट सवारी दुर्घटनामा कमी भएको प्रहरी निरीक्षक चन्दले उल्लेख गरे । उनले भने, “सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने उद्धेश्यसहित सप्ताह आयोजना गरिएको हो । सवारी दुर्घटनामा व्यक्ति स्वयं नै सचेत भइ सडक प्रयोग गरे दुर्घटना न्यूनीकरण हुन्छ भन्ने सन्देश प्रवाह भएको छ ।”
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिकको पहिलो जिम्मेवारी भएपनि अन्य निकायले पनि यसमा काम गर्नुपर्ने उनकाे भनाइ छ । उनले भने, “दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना वृद्धि गर्न सके र सरोकारवाला निकायले आफ्नो जिम्मेवारी अनुसार कार्य सम्पन्न गरे दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।”
कार्यालयले आज एक कार्यक्रमका बीच सप्ताहको समापन गरेको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले दुर्घटना न्यूनीकरणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।