दमाैली, १६ असार । भूमि समस्या समाधान आयोग तनहुँले लालपूर्जा वितरणको तयारी गरेको छ । आयोगका जिल्ला अध्यक्ष गोविन्द सिलवालको अध्यक्षतामा साेमबार बसेको बैठकले वडा सहजीकरण समिति मार्फत् पालिकाबाट निर्णय साथ सिफारिस भएका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने निर्णय गरेको हो ।
त्यसका लागि थप प्रमाणीकरणका लागि सात दिने समय दिई मालपोत कार्यालय तनहुँमा पठाउने निर्णय गरेको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । मालपोत कार्यालयबाट प्रमाणिकर भई आएपछि छिटोभन्दा छिटो लालपूर्जा वितरण गरिने कार्कीले बताए ।
आयोगबाट नापजाँच भएका ठाउँका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई प्राथमिकतामा राखेर पूर्जा वितरण गर्न लागिएको उनकाे भनाइ छ ।