दमाैली, १९ असार । डिभिजन वन कार्यालय तनहुँले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ । कार्यालयलको नर्सरीमा उत्पादित विभिन्न बिरुवा सर्वसाधारणलाई निःशुल्क वितरण सुरु गरिएको हो ।
कार्यालयले आइतबारदेखि २२ प्रजातिका बिरुवा वितरण सुरु गरेको कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ४० हजार बिरुवा वितरण गरिनेछ ।
कार्यालयका नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो, राइखन्यु, निमारो, अमला, हर्रो, टिमुर, बडहर, तेजपात, कुरिलो, कपुर, धुपी, अशोका, बेल, वर, पिपल, म्याङ्गोस्टिक, कल्कीफूलका बिरुवा वितरण गरिने श्रेष्ठले जानकारी दिए ।
गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो । यस वर्ष भने कम बिरुवा उत्पादन भएको उनकाे भनाइ छ । जिल्लाका विभिन्न स्थानबाट बिरुवा लिनका लागि कृषकहरु कार्यालयमा आउने गरेका छन् । कार्यालयमा अन्यभन्दा डालेघाँसको माग बढी रहेको छ । पशुपालनमा सक्रिय कृषकहरु डालेघाँसका लागि विरुवा लिन आउने गरेको श्रेष्ठको भनाइ छ ।