तनहुँ बाढीपहिरोको उच्च जोखिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ बाढीपहिरोको उच्च जोखिममा

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८२, शुक्रबार

    दमाैली, २० असार । तनहुँका दश वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले तयार गरेको प्रतिकार्य योजना २०८२ बमोजिम जिल्लास्थित चार नगरपालिका र छ गाउँपालिकाका विभिन्न वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् ।

    विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बाढीपहिरो, आगलागी, महामारी, सुख्खा खडेरी, सडक दुर्घटना, चट्याङ लगायतका जोखिमको प्रभाव न्यूनीकरण तथा पूर्वतयारीको लागि विपद् पूर्व प्रतिकार्य योजना निर्माण गरी लागु गरिएको जानकारी दिए ।

    योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समिति तनहुँको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकारीले बताए ।

    प्रतिकार्य योजनामा उल्लेख भए अनुसार व्यास नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ सम्म र १४ का ६२ टोल बस्ती पहिरोको उच्च जोखिममा छ ।

    भानु नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ का टोलबस्ती, भिमाद नगरपालिकाको वडा नम्बर ३, ५, ७, ८ र ९, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ९ र १०, देवघाट गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४, बन्दीपुर गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का दश बस्ती, घिरिङ गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ का दश बस्ती, ऋषिङ गाउँपालिकाको वडा नम्बर १, २, ३, ६, ७ र ८, आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र म्याग्दे गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मका बस्ती पहिरोको जोखिममा छ ।

    यसैगरी व्यास नगरपालिकाको वडा नम्बर १, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती, भानु नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ११, १२ र १३ का बस्ती, भिमाद नगरपालिकाको वडा नम्बर १ को दुई बस्ती, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ४ र ८ को बस्ती, देवघाट गाउँपालिकाको वडा नम्बर १ देखि ५ अन्तर्गतका नदी तटीय क्षेत्र बाढीको जोखिममा छ ।

    बन्दीपुर गाउँपालिकाको वडा नम्बर ६ को सामीकोट क्षेत्र, घिरिङ गाउँपालिकाको वडा नमबर १ को कालीगण्डकी, मैदीखोला र सिरिङ्दी क्षेत्र किनारका बस्ती, ऋषिङ गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी किनारका बस्ती, आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर २, ४, ५, ६ का बस्तीहरु, म्याग्दे गाउँपालिकाको वडा नम्बर ३ र ६ को अकला क्षेत्र बाढीको उच्च जोखिममा छ ।

    प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, “मनसुनको समयमा घट्न सक्ने विभिन्न प्रकोपका घटनाहरु र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरण लगायतका कार्य गर्न कार्ययोजना बनाएर अगाडी बढेका छौ ।” उनले सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएको बताउनुभयो ।

    यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायहरुको अधिकतम परिचालन हुने, मनसुनको कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकायहरु तयारी अवस्थामा रहने अधिकारीको भनाइ छ ।

    विपद् व्यवस्थापन समितिले मनसुनको समयमा गर्नुपर्ने पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित निकायहरुको भूमिका र जिम्मेवारी बाँडफाँड गरेको छ । प्रमुख जिल्ला अधिकारीले समन्वयात्मक र नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार प्रदेश तथा केन्द्रीय स्तरमा सहयोग, सुरक्षा निकाय प्रमुखले खोज तथा उद्धारमा सक्रिय, जोखिमको समयमा सुरक्षा व्यवस्था, जिल्ला समन्वय समिति प्रमुखले स्थानीय तहहरुसँग समन्वय, विपद् सम्बन्धित सूचना सङ्कलनमा सहजीकरण गर्नेछन् ।

    गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुले जोखिमबाट प्रभावित हुन सक्ने जनसङ्ख्याको पहिचान, जोखिमयुक्त ठाउँ, वस्ती तथा समुदायको पहिचान, गाउँपालिका तथा नगरपालिकास्तरको मनसुन पूर्व तयारी कार्ययोजना निर्माण गर्नेछन् । राजनीतिक दलका प्रमुखहरुले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई सल्लाह र सहयोग, स्रोत सङ्कलनका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछन् भने नेपाल रेडक्रस सोसाइटीका सभापतिले खाद्य, गैरखाद्य सामग्री तथा अस्थायी आवासको व्यवस्थापन, सूचना सङ्कलन तथा सम्प्रेषणका लागि स्वयंसेक परिचालन, प्रकोपको समयमा आपतकालिन आवास तथा बन्दोबस्ती व्यवस्थापनमा सहयोग पु¥याउनेछन् ।