


दमाैली, २१ असार । प्राकृतिक एवम् धार्मिक ग्राम बन्दीपुरमा श्रावण महिना भरि सञ्चालित हुने गरि शिव महिम्नाहा उत्सव हुने भएको छ ।
“आदियोगी प्रज्ञा धाम” मुल प्रवर्धक रहेको यस कार्यक्रम “शिव महिम्नाहा उत्सव” आयोजक मुल समितिले आयोजना गरेको हो । बन्दीपुरभित्रका विभिन्न संघ संस्था, धार्मिक मठ मन्दिरका अगुवाहरु आयोजक रहेकाे यस कार्यक्रमलाई बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले मुख्य प्रायोजन गरेको छ । यस उत्सवमा विभिन्न वित्तिय संस्था एवम् व्यापारिक संघ संस्थाहरुले सह–प्रायोजन र सहयोग गरेका छन् ।
यस कार्यक्रम अन्तर्गत श्रावण महिना १ गते लुतो फाल्ने कार्यक्रम, श्रावण १ गते देखि ३१ गते सम्म संगीतमय माहादिव्य आरती कार्यक्रम, श्रावण महिनाको प्रत्येक सोमबार “बोल बम कार्यक्रम” रहनेछ ।
बोल बम कार्यक्रम अन्तर्गत–मस्र्याङ्दी किनारमा रहेको शिवालय मन्दिरमा मस्र्याङ्दी नदीको जल अविषेक गर्ने, शिवालय देखि केवलकार परिसरमा रहेको सिद्धेश्वर महादेवमा पुुगी रुद्राअविषेक गर्ने र केवलकार मार्फत बोलबम यात्रा गराउदै बन्दिपुर डाँडा तिनधारे ज्योत्लिङ्गमा महादिव्य रुद्राअविषेक गर्ने, भजन कृतन, धार्मिक सांस्कृतिक कार्यक्रम गरि पुुनः केवलकारको वटम स्टेशनमा महादिव्य आरती गरि कार्यक्रम सम्पन्न हुने शिव महिम्नाहा उत्सव मुल आयोजक समितिका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।
श्रावण महिना भरि भजन प्रतियोगिता समेत आयोजना गरिएको आयोजक समिति सदस्य सरोज सिग्देलले बताए । यो कार्यक्रम गत वर्ष भव्य रुपमा सम्पन्न भएको र यो वर्ष बन्दीपुरलाई धार्मिक पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने गरि अझ ब्यापक रुपमा विकास गर्न सबै क्षेत्रहरुको सहयोग रहने आयोजकले दावी गरेको छ ।