


दमौली, ३ साउन । भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात् गर्दै उपभोक्तामैत्री एक महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। समितिको शनिबार सम्पन्न बैठकले उपभोक्ता सदस्यका परिवारमा मृत्यु शोक परेको अवस्थामा सो महिनाको खानेपानी महसुल मिनाहा गर्ने निर्णय गरेको हो।
समितिका अध्यक्ष ऋषिराम राना, पदाधिकारीहरू तथा सदस्यहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा साउन ३ गतेदेखि निर्णय कार्यान्वयनमा ल्याइने बताइएको छ। समितिका सदस्य सूर्य विश्वकर्माले मृत्युपछि परिवारमा हुने पीडालाई ध्यानमा राख्दै श्रद्धाञ्जली फ्रेम पनि नदिने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार श्रद्धाञ्जली फ्रेमले शोकमा रहेका परिवारलाई थप मानसिक पीडा पुर्याउने भएकाले उक्त निर्णय लिइएको हो।
भिमाद नगरपालिका वडा नं. ६ स्थित बजार क्षेत्रका करिब १८ सय घरधुरी उपभोक्तालाई सेवा प्रदान गर्दै आएको खानेपानी समितिले असार ८ गते देखि साझा लाइनमा नयाँ शुद्ध खानेपानी फिल्टर प्रणालीको समेत निःशुल्क व्यवस्था गरेको छ।