


दमाैली, १३ साउन। जिल्ला प्रशासन कार्यालय तनहुँले एक वर्षको अवधिमा करिब डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा एक लाख ४७ हजार आठ सय ३१ जनालाई विविध सेवा प्रदान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ९५ हजार तीन सय ४१ जनालाई राष्ट्रिय परिचयपत्र, २५ हजार नौ सय १८ जनालाई राहदानी, १७ हजार नौ सय सात जनालाई नागरिकता, पाँच हजार चार सय ८४ जनालाई सिफारिस, एक हजार चार सय ६७ जनालाई गुनासो, सात सय ९४ जनालाई संस्था दर्ता÷नविकरण, छ सय छ जनालाई नाबालक परिचयपत्र, एक सय ८२ जनालाई हातहतियार नविकरण÷नामसारी सम्बन्धी सेवा प्रदान गरिएको छ ।

जिल्लामा सोही आर्थिक वर्षमा ३५ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमध्ये सात जना महिला र २८ जना पुरुष रहेको प्रजिअ अधिकारीले बताए । उनका अनुसार सोही अवधिमा तीन जना महिलाको नागरिकता रद्ध गरिएको छ ।
कार्यालयले सो आर्थिक वर्षमा १७ हजार आठ सय ६९ नागरिकता प्रमाणपत्र वितरण गरेको छ । जसमध्ये आठ हजार सात सय १८ नयाँ नागरिकता र नौ हजार एक सय ५१ प्रतिलिपि रहेको प्रजिअ अधिकारीले बताए ।
उनका अनुसार नयाँ नागरिकतातर्फ वंशज (बाबुको आधारमा) आठ हजार छ सय ७६, वंशज (आमाको आधारमा) तीन, गैरआवासीय २९ र वैवाहिक अङ्गिकृत दश नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमा चार हजार चार सय ५९ महिला र चार हजार दुई सय ५९ पुरुष रहेका छन् ।
प्रतिलिपितर्फ वंशजका आधारमा चार हजार चार सय ७७ महिला, चार हजार छ सय ६४ पुरुष, वैवाहिक अङ्गिकृत आठ र जन्मसिद्ध दुई नागरिकता वितरण गरिएको छ ।
मासिक रुपमा साउनमा एक हजार आठ सय ६९, भदौमा एक हजार एक सय ८६, असोजमा सात सय ९१, कात्तिकमा एक हजार आठ सय दुई, मङ्सिरमा एक हजार चार सय ३५, पुसमा एक हजार दुई सय ४४, माघमा एक हजार छ सय एक, फागुनमा एक हजार एक सय ९७, चैतमा एक हजार चार सय २४, वैशाखमा एक हजार तीन सय ६५, जेठमा दुई हजार एक सय ९१ र असारमा एक हजार सात सय ६४ नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले एक वर्षकै अवधिमा छ सय नाबालक परिचयत्र वितरण गरेको छ भने छ वटा प्रतिलिपि वितरण गरेको छ । यस्तै पाँच हजार एक महिला, आठ हजार चार सय ५० पुरुष र दुई सय ६४ नाबालक गरी १३ हजार सात सय १५ राहदानी विवरण सङ्कलन गरिएकामा चार हजार चार सय ५८ महिला र सात हजार सात सय ४५ पुरुष गरी १२ हजार दुई सय तीन राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ ।
सो अवधिमा १२ हजार नौ सय ९६ महिला र १७ हजार छ सय ६४ पुरुष गरी ३० हजार छ सय ६० जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ । कार्यालयमा आएका ६४ हजार छ सय ८१ थान परिचयपत्र सम्बन्धित पालिकामा पठाएर वितरण भइरहेको प्रजिअ अधिकारीको भनाइ छ ।