


दमाैली, ३१ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले आयोजना समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।
आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । उनले तनहुँ जलविद्युत आयोजनाले देशको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान दिने उल्लेख गरे।
मुख्यमन्त्री पाण्डेले तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गत बाँध निर्माणस्थल र प्याकेज दुई अन्तर्गत विद्युतगृहको निरीक्षण गरेका थिए ।
मुख्यमन्त्री पाण्डेलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी गराए।
प्याकेज एक अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । प्याकेज एकको हालसम्मको प्रगति ४३ दशमलव ५ प्रतिशत रहेको छ ।
भण्डारीका अनुसार प्याकेज दुई अन्तर्गतको विद्युतृहभित्र संरचनागत कार्यहरु सम्पन्न भइ उपकरणहरुको जडान कार्य भइरहेको छ । प्याकेज दुई अन्तर्गत भूमिगत विद्युतगृहमा ६७ र प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको छ ।
आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।