


दमाैली, २२ असाेज । यहाँको व्यास नगरपालिकाले खर्च कटौती एवं कर्मचारीको स्वीकृत दरबन्दी अध्ययन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आजा बसेको कार्यपालिकाको बैठकले नगरपालिकाको खर्च कटौती एवं कर्मचारीको स्वीकृत दरबन्दी, कर्मचारी व्यवस्थापन सम्बन्धमा सङ्घीय सरकारको निर्देशन समेतको आधारमा अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको संयोजकत्वमा समिति गठन गरेको हो ।
सो समितको प्रतिवेदन सुशासन समितिमार्फत् आगामी नियमित बैठकमा पेश गर्ने निर्णय भएको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।
बैठकमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नगरपालिकाका चार पाङ्ग्रे चार वटा सरकारी गाडी, तीन वटा सरकारी मोटरसाइकल, एक स्कुटर पूर्ण क्षति, एक निजी स्कुटर पूर्ण क्षति, एक निजी मोटरसाइकल आंशिक क्षति, एक सरकारी लोडर, टाटा सुमो, दमकलमा आंशिक क्षति पुगेको समिक्षा गरिएको छ । यस्तै मूल कार्यालय र दमौली सभाहलमा शिशा तोडफोड भइ क्षति, वडा नम्बर १३ को पुराना दुई भवनमा पूर्ण क्षति, नयाँ भवन आंशिक क्षति, नगरप्रमुख आवास गृहमा तोडफोड र भाडामा बस्नेका नगद गहना चोरी लगायतका विषयमा बैठकमा छलफल भएको थियो ।
चालु आर्थिक वर्षका नगरसभाबाट निर्णय भएका योजनाहरु कार्यान्वयन गर्ने सम्बन्धमा असोज ७ गते अर्थ मन्त्रालयबाट निर्देशित बुँदाहरुको समिक्षा गरी सोही आधारमा योजना कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता थापाले जानकारी दिए ।
चालु आर्थिक वर्षमा आन्तरिक आयतर्फ रु २० करोड अनुमान गरिएकामा असोज २१ गतेसम्म रु दुई करोड ३८ लाख प्राप्त भएको विवरण बैठकमा पेश गरिएको थियो ।