


दमौली, २८ असोज । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ-१ मा दीपकराज जोशी उम्मेदवार बन्ने भएका छन् । उनले त्यसका लागि मतदातासँग भेटघाट कार्यक्रमलाई अगाडी बढाउने जानकारी दिएका छन् ।
देश अहिले जटिल राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिबाट गुज्रिरहेको बताउँदै जोशीले यस्ता निर्णायक क्षणमा जनतासँग प्रत्यक्ष संवाद गर्नु, उनीहरूको विचार सुन्नु र आफ्नो दृष्टिकोण प्रस्ट्याउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गरे । उनले भने, ‘ यही उद्धेश्यका साथ म तपाईंको घर आँगनमा आउँदैछु।’
उनले भने, ‘हामी सँगै बसेर आजका चुनौतीहरू असमानता, बेरोजगारी, कमजोर शासकीय प्रणाली, र विकासमा देखिएका अवरोध बारेमा खुलेर कुरा गर्नेछौँ। म केवल भाषण गर्न होइन, तपाईंको आवाज सुन्न र त्यही आवाजलाई सम्बन्धित ठाउँमा पुर्याउने दृढ संकल्पका साथ आएको छु। देशको भविष्य हरेक नागरिकको सहभागिता र चेतनाले निर्माण हुन्छ भन्नेमा म दृढ छु।’
यसपटकको निर्वाचन केवल नेताहरू रोज्ने समय नभई नयाँ दिशाको यात्राको सुरुवात गर्ने अवसर भएको उनको भनाइ छ ।