


दमाैली, २८ असाेज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा शनिबार बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो । दुर्घटनामा घाइते स्कुटर चालक पुनरामको सोही दिन मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते मनोजको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।