


दमौली, २५ मंसिर । तनहुँ जिल्लाको दोस्रो अग्लो पहाड मिर्लुङकोटको काखमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्वको भयरथान मन्दिर पुनर्निर्माणका लागि गुरुङ परिवारले उल्लेखनीय आर्थिक तथा सामग्रीगत सहयोग प्रदान गरेका छन्।
ब्यास–८, पुलिमराङका समाजसेवी मुक्तिराज गुरुङ तथा उनकी धर्मपत्नी देविमाया गुरुङले मन्दिर पुनर्निर्माणका लागि रु तीन लाख २० हजार आर्थिक सहयोग उपलब्ध गराएका हुन्।
यसअघि पनि सामाजिक तथा सामुदायिक कार्यमा सक्रिय रहँदै आएको गुरुङ दम्पतीले आफ्नो गाउँ ठाउँको विकासमा निरन्तर योगदान दिँदै आएका छन्।
यसबाहेक, मन्दिरका लागि आवश्यक ४० केजी तौल बराबरको करिब रु ७५ हजार मूल्य पर्ने घण्टी समेत गुरुङ दम्पतीका साथै उनका जेष्ठ सुपुत्र समाजसेवी सूर्यराज गुरुङले संयुक्त रूपमा सहयोग गरेका छन्। उक्त घण्टी व्यास–८ का वडा अध्यक्ष तथा काईला सुपुत्र युवराज गुरुङले मन्दिरका पुजारी देवबहादुर गुरुङलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
स्थानीयवासीका अनुसार प्राप्त भएको यो सहयोगले भयरथान मन्दिरको संरक्षण, विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ। मन्दिर पुनर्निर्माणसँगै स्थानीय क्षेत्रको सांस्कृतिक पहिचान र आस्थाको केन्द्रसमेत थप सुदृढ हुने अपेक्षा गरिएको स्थानीय गलबहादुर गुरुङले बताए ।