


दमौली, ५ पुस । व्यास नगरपालिका-२ दमाैलीस्थित सत्यवती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पूर्व विद्यार्थी मञ्च, सत्यवती माविको आयोजनामा विद्यालयका विद्यार्थी तथा विद्यालय परिवारका लागि निःशुल्क जनरल स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ।
स्वास्थ्य क्षेत्रमा कार्यरत सत्यवती माविका पूर्व विद्यार्थी डाक्टर, नर्स तथा फार्मासिस्टहरूको सक्रिय सहभागिता र सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमार्फत तीन सय २० जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष एवं संरक्षक काशिराम श्रेष्ठ रहेका थिए । कार्यक्रम पूर्व विद्यार्थी मञ्चका अध्यक्ष पुष्प श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ तथा प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्ध सुदृढ हुँदै गएको उल्लेख गरे।
कार्यक्रमको स्वागत मन्तव्य पूर्व विद्यार्थी मञ्चका सचिव सुजन पण्डितले गरेका थिए भने कार्यक्रम सञ्चालन उपाध्यक्ष माधव न्यौपानेले गरेका थिए। शिविरको उद्धेश्य र महत्वबारे डा. अनिल गिरी र डा. अञ्जु थापाले प्रकाश पारेका थिए ।
शिविरमा सहभागी स्वास्थ्यकर्मीहरूमा डा. अनिल गिरी, डा. सुशील पौडेल, डा. केविन पौडेल, डा. सुरज श्रेष्ठ, डा. असीम वाग्ले, डा. हरिकला घिमिरे, डा. आशिष पौडेल, डा. रविन पण्डित, डा. अञ्जु थापा र डा. ममता वाग्ले रहेका थिए। त्यसैगरी नर्सतर्फ अस्मिता तामाङ, रेमना श्रेष्ठ र सुनिता श्रेष्ठ तथा फार्मासिस्टतर्फ अप्सरा अधिकारी, दामोदर भण्डारी, वसन्त श्रेष्ठ र राजेश क्षेत्री सहभागी थिए।
