


दमौली, २३ पुस । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा भोलिदेखि छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ।
आदिवासी जनजातिहरूको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री टकराज गुरुङले गर्ने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर विभिन्न आदिवासी जनजातिका सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा गीत–संगीत प्रस्तुत गरिनेछ। साथै परम्परागत भेषभूषा, जातीय खानाका परिकार, हस्तकला सामग्री, स्थानीय उत्पादन तथा आदिवासी जनजातिसँग सम्बन्धित प्रदर्शनी कक्षहरू पनि रहनेछन्।
नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष सनम तामाङका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको पहिचानलाई उजागर गर्दै आपसी सद्भाव, सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ।
आयोजकले सम्पूर्ण तनहुँवासी तथा आसपासका जिल्लाबाट महोत्सवमा सहभागी भई आदिवासी जनजातिको समृद्ध संस्कृति नजिकबाट अवलोकन गर्न सबैलाई आग्रह गरेको छ।
