रास्वपाबाट तनहुँ–२ मा राजेश पाण्डेको दावेदारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपाबाट तनहुँ–२ मा राजेश पाण्डेको दावेदारी

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०८२, बिहीबार

    दमौली, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने आकांक्षीहरूको संख्या बढ्दै गएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र उम्मेदवारीका लागि आन्तरिक छलफल र तयारी तीव्र भइरहेका बेला विभिन्न व्यक्तिहरूले दावेदारी प्रस्तुत गर्न थालेका हुन्।

    यसै क्रममा राजेश पाण्डे ले पनि तनहुँ–२ बाट रास्वपाको उम्मेदवार बन्ने आकांक्षा सार्वजनिक गरेका छन्। सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय पाण्डे स्थानीय स्तरमा विभिन्न सामाजिक कार्य, अभियान र जनसरोकारका विषयमा संलग्न रहँदै आएका व्यक्ति हुन्। उनले समाजमा देखिएका समस्या समाधानका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै आएका छन्।

    पाण्डेले राजनीतिमा युवा नेतृत्व अघि आउनुपर्ने मान्यता राख्दै पार्टीभित्र नयाँ सोच, नयाँ ऊर्जा र जवाफदेही नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

    रास्वपाले उम्मेदवार छनोटका लागि आन्तरिक प्रक्रिया अघि बढाइरहेको छ। खुला प्रतिस्पर्धा, योग्यता र जनआधारलाई मुख्य आधार मानेर उम्मेदवार तय गरिने पार्टीको भनाइ छ। यही कारण तनहुँ–२ मा पार्टीभित्र आकांक्षीको संख्या बढ्नुले रास्वपाको संगठन विस्तार र स्थानीय आकर्षण बढेको संकेतका रूपमा हेरिएको छ।

    को हुन् पाण्डे ?

    शुक्लागण्डकी नगरपालिका-६ निवासी राजेश पाण्डे एक उद्यमशील, सोचमा स्पष्ट र व्यवहारमा सक्रिय युवा व्यवसायी हुन्। निजी क्षेत्रको अनुभवलाई सामाजिक सेवासँग जोड्दै उनले समाजप्रति आफ्नो जिम्मेवारीलाई कर्मका रूपमा आत्मसात् गरेका छन्।

    ३५ वर्षे युवा आजभन्दा नै १६ वर्षअघि अध्ययनको सिलसिलामा बेलायत पुगेका थिए । त्यसपछि १० वर्षअघि अस्ट्रेलिया र खाडी मुलुकहरूको पनि बसाइँमा, त्यहाँको विकास, प्रणाली र जीवनशैलीलाई नजिकबाट देख्ने–बुझ्ने अवसर उनले पाए । ती अनुभवहरूले उनको दृष्टिकोणलाई फराकिलो बनाएको छ र विकास कस्तो हुनुपर्छ भन्नेबारे प्रत्यक्ष अनुभूति उनमा छ ।

    सन् २०१८ मा कर्नाटकस्थित युनिभर्सिटी अफ मैसोरबाट एमबीए पूरा गरी, आफूले आर्जन गरेको ज्ञान र सीप आफ्नै देशको सेवा र योगदानमा लगाउने उद्देश्यले उनले विभिन्न बहुराष्ट्रिय कम्पनीहरूमा काम गरे । हाल विगत ५ वर्षदेखि आफ्नै गृहस्थान शुक्लागण्डकीमा रहेर सक्रिय रूपमा कार्यरत छन् ।

    पढाइ तथा अतिरिक्त क्रियाकलापमा अब्बल क्षमता राख्ने उनी बिबिए अध्ययनका क्रममा ‘स्टुडेन्ट अफ दि इएर २०१५, मिस्टर नोवेल २०१६’ तथा एमबिए अध्ययनका क्रममा ‘मिस्टर भर्सटाइल’ जस्ता उपाधिबाट सम्मानित भइसकेका छन्।

    पछिल्लो समय उनी विभिन्न सामाजिक, मानवीय तथा चेतनामूलक गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।
    राजेश पाण्डे हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिको सचिव पदमा कार्यरत छन्।

    सामाजिक अभियानको सन्दर्भमा पाण्डेले मिर्गौला फेल भएका बिरामी, आर्थिक अभावका कारण भेन्टिलेटरमा उपचाररत बिरामीहरूलाई सहयोग पुर्‍याउनुका साथै गाई संरक्षणका लागि कोष संकलन अभियान सञ्चालन गरेका छन्। साथै, अस्थिमज्जा प्रत्यारोपण आवश्यक परेका बिरामीका लागि अभियानमार्फत करिब ४५ लाख रुपैयाँ संकलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। भारतमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धार, ट्राफिक सुरक्षा सम्बन्धी जनचेतना अभियान तथा सरकारी परियोजनाहरूमा देखिने लापरवाहीप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यमा पनि उनी सक्रिय छन् ।