



गैंडाकोट, २४ पुस । चौथो गैंडाकोट महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। बिहीबार साँझसम्म महोत्सवका सबै तयारी कार्य लगभग सम्पन्न भइसकेको जनाइएकाे छ । महोत्सवको उद्घाटन शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम रहेको छ।
“आफ्नै गौरव, आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मूल नाराका साथ आयोजना गरिएको चौथो गैंडाकोट महोत्सव २०८२ पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुनेछ। गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारको प्रदर्शनी स्थललाई विशेष सजावट गरी आकर्षक बनाइएको छ। महोत्सव स्थलमा गैंडाकोटको धार्मिक पहिचान झल्किने गरी मौलाकालिका मन्दिरको प्रतीकात्मक झल्को दिने भव्य स्वागतद्वार निर्माण गरिएको छ भने नगरपालिकाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ।
महोत्सवको मुख्य उद्देश्य गैंडाकोटमा उत्पादित कृषि उपजको बजारीकरण, व्यापार प्रवर्द्धन गर्दै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ। साथै स्थानीय संस्कृति संरक्षण तथा संवर्द्धन, धार्मिक स्थलहरूको प्रचार–प्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य पनि महोत्सवले लिएको छ।
आयोजक समितिका संयोजक छबिलाल कँडेलका अनुसार महोत्सव उद्घाटनको अवसरमा शुक्रबार बिहान १० बजे गैंडाकोट नगरपालिकाको परिसरबाट महोत्सव स्थल नारायणी किनारसम्म नगरपालिकाका सबै टोल विकास संस्था, विभिन्न संघ–संस्था, जातीय तथा धार्मिक संघसंस्था, व्यावसायिक प्रतिष्ठान र सम्पूर्ण नगरबासीको सहभागितामा भव्य शोभायात्रा निकालिनेछ।
आयोजकका अनुसार प्रदर्शनी स्थलमा बंगलादेशको ढाका कपडा, पाकिस्तानी छाला तथा भारतीय गार्मेन्ट तथा भाँडाकुँडाका लागि स्टल बुकिङ भइसकेको छ। स्थानीय कृषि उपजको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले एक सयवटा स्टल निःशुल्क व्यवस्था गरिएको छ भने महोत्सव स्थलमा कुल २५० देखि ३०० वटासम्म स्टल रहनेछन्।
महोत्सवका प्रमुख आकर्षणका रूपमा जलपरी, ओपेरा हाउस, भजन प्रतियोगिता तथा विविध सांगीतिक कार्यक्रम रहेका छन्। सूचना तथा सञ्चार संयोजक शालिकराम सापकोटाका अनुसार मेला, महोत्सव तथा प्रदर्शनीमार्फत देशको आर्थिक चलायमानतामा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
सांस्कृतिक संयोजक किशोर लम्सालले शोभायात्रामा जातीय पहिचान झल्किने भेषभूषासहितको सांस्कृतिक प्रदर्शन गरिने जानकारी दिए। साथै हरेक दिन गैंडाकोटका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको चिनारी झल्काउने वृत्तचित्र प्रदर्शन गरिनेछ। स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न प्रमुख अतिथि तथा अन्य अतिथिलाई मायाको चिनोका रूपमा स्थानीय कृषि उपज प्रदान गरिने कार्यक्रम पनि रहेको छ।
आयोजकका अनुसार महोत्सवबाट संकलित फाइदाबाट गैंडाकोट उद्योग वाणिज्य संघको भवन निर्माण गर्ने लक्ष्य राखिएको छ। महोत्सवमा करिब ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
गैंडाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको सह–आयोजक गैंडाकोट नगरपालिका रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ र गण्डकी प्रदेश उद्योग वाणिज्य संघ संरक्षक रहेका छन् भने नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवर्द्धक रहेको आयोजकले जनाएको छ।