


दमाैली, २४ पुस । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ मा सञ्चालन गरिएको व्यवसाय दर्ता, सूचीकृत तथा नवीकरण अभियान सफलतापूर्वक सम्पन्न भएको छ। व्यवसायीहरूले उत्साहका साथ अभियानमा सहभागिता जनाउँदै सेवा लिएका छन्।
म्याग्दे गाउँपालिकाको आयोजना तथा म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा व्यवसाय दर्ता, सूचीकृत र नवीकरण अभियान सञ्चालन हुँदै आएको छ। यसअघि गाउँपालिकाले घरदैलोमै सेवा प्रदान गरेपछि बिहीबार आयोजित कार्यक्रममा वडाभित्र सञ्चालित व्यवसायीहरूको उल्लेख्य सहभागिता देखिएको हो।
आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले घरआँगनबाटै सेवा पाउँदा व्यवसायी तथा सर्वसाधारण खुसीसाथ अभियानमा सहभागी भएको बताए । दर्ता भएका व्यवसायीलाई प्रमाणपत्र वितरण गर्दै उनले व्यवसायलाई निरन्तरता दिँदै गाउँपालिकाको दिगो विकासमा योगदान दिन आग्रह गरे।
गाउँपालिकाभित्र सञ्चालित व्यापार–व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियानकै रूपमा दर्ता तथा सूचीकृत कार्य विभिन्न वडामा सञ्चालन गरिएको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए। पटक–पटक सूचना दिँदा पनि दर्ता वा सूचीकृत हुन नआएका व्यवसायीलाई लक्षित गर्दै अभियानलाई तीव्र बनाइएको उनले बताए ।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीले व्यवसायीहरूको हितका लागि गाउँपालिकासँग सहकार्य गर्दै दर्ता तथा नवीकरण अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार वडाभित्र होटल, किराना, कृषि, मासु पसल, स्टेशनरी, परामर्श सेवा, ब्युटी पार्लर, सप्लायर्स, ग्रिल उद्योगलगायत विभिन्न प्रकारका व्यवसाय दर्ता तथा सूचीकृत भएका छन्।
उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र अधिकारीले दर्ता अवधिमा व्यवसायीलाई सहज बनाउन फोटो कपीलगायत आवश्यक कार्यहरू निःशुल्क व्यवस्था गरिएको जानकारी दिए।
गाउँपालिकाभित्रका उद्योगी तथा व्यवसायीहरूले आफ्नै घर–टोलबाट सेवा पाएपछि उत्साहका साथ सहभागिता जनाउँदै कानुनी प्रक्रिया तथा व्यवसाय सञ्चालनसम्बन्धी जानकारी लिएको जनाइएको छ। वडा नम्बर १, २, ३, ५ र ७ गरी हालसम्म २ सय ६५ भन्दा बढी व्यवसायले प्रत्यक्ष रूपमा सेवा लिएको आर्थिक विकास शाखाले जनाएको छ।
