तनहुँमा १५७३ निर्वाचन प्रहरी भर्ना गरिदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा १५७३ निर्वाचन प्रहरी भर्ना गरिदै

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०८२, शुक्रबार

    दमौली, २५ पुस । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको संयुक्त कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको हो ।

    सूचना अनुसार निर्वाचन प्रहरी पदका लागि तनहुँमा १ हजार ५७३ जना माग गरिएको छ । इच्छुक उम्मेदवारले पुस २५ गतेदेखि माघ १ गतेसम्म निवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेको हुनुपर्ने जनाइएको छ ।

    उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ ५ फिट ३ इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ ५ फिट, तौल ४२ केजी तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको वा भइसकेको अवस्थामा सो अवस्था समाप्त भएको हुनुपर्ने शर्त पनि राखिएको छ ।

    दरखास्तका साथ पासपोर्ट साइजका हालसालै खिचिएका ४ प्रति फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पूर्व सुरक्षाकर्मीका हकमा सेवा निवृत्त प्रमाणपत्रको प्रतिलिपि तथा विगतका निर्वाचनमा निर्वाचन प्रहरीका रूपमा कार्य गरेको भए सोको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।