


दमौली, २५ पुस । प्रहरी कार्य सम्पादन सुधार कार्ययोजना अन्तर्गत लागुऔषध प्रयोगकर्ता निगरानी तथा काउन्सेलिङ कार्यक्रम अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारमा लागुपदार्थ सेवन परीक्षण गरिएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थायी ट्राफिक प्रहरी पोष्ट आँबुखैरेनी तनहुँबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सवारी साधनका चालकको लागुपदार्थ सेवन परीक्षण गरेको हो ।
आँबुखैरेनी अस्पतालको प्राविधिक सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गतको सडकखण्डमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनका चालकहरुलाई लक्षित गरी परीक्षण गरिएको हो।
पन्ध्र वटा सार्वजनिक सवारी साधनका चालकहरुको लागुऔषध सेवन परीक्षण गरिएकामा दुई जना चालकहरुमा लागुऔषध सेवन गरेको पोजेटिभ देखिएको प्रहरीले जनाएको छ। पोजेटिभ देखिएका दुवै जना चालकहरुलाई आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार सार्वजनिक यातायातलाई सुरक्षित, अनुशासित र विश्वासिलो बनाउन यस्ता परीक्षण तथा निगरानी कार्यक्रम नियमित रुपमा सञ्चालन गरिँदै आएको छ। लागु औषध सेवन गरी सवारी साधन सञ्चालन गर्दा यात्रु तथा सर्वसाधारणको ज्यान जोखिममा पर्ने भएकाले नियन्त्रण तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।
