


दमौली, २६ पुस । नेपाली काङ्ग्रेस तनहुँका दुवै क्षेत्रीय समिति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । तनहुँ क्षेत्र नम्बर १ र २ ले छुट्टाछुट्टै विज्ञप्ती जारी विशेष महाधिवेशनमा सहभागी हुन अपिल गरेको छ ।
क्षेत्र नम्बर १ का सभापति श्याम मौरातीले नेपाली काङ्ग्रेसको विधानको धारा १७ (२) बमोजिम पुस २७ र २८ गते काठमाडौमा हुने विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन् ।
पार्टीको विधानको संवैधानिक तथा कानुनी व्यवस्थाको अधिनमा रही काङ्ग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधिवत ढङ्गले माग गरेको विशेष महाधिवेशनलाई औपचारिक रुपमा सम्बोधन गरी विधि र पद्धतिलाई कार्यान्वयन तर्फ उन्मुख गराउनुपर्ने मौरातीले उल्लेख गरेका छन् ।
क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पार्टीको विधानअनुसार आयोजना हुन लागेको विशेष महाधिवेशन मुलुकको वर्तमान राजनीतिक अवस्था, सङ्गठन सुदृढीकरण, आन्तरिक एकता तथा भावी रणनीति तय गर्ने दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताए ।
