गरिबी दरका आधारमा स्थानीय तहको वर्गीकरण, बन्दीपुर गाउँपालिका देशकै दशौँ कम गरिब पालिकामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गरिबी दरका आधारमा स्थानीय तहको वर्गीकरण, बन्दीपुर गाउँपालिका देशकै दशौँ कम गरिब पालिकामा

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८२, शनिबार

    दमौली, २६ पुस । राष्ट्रिय तथ्यांक कार्यालयले गरिबी दरका आधारमा देशभरका स्थानीय तहको वर्गीकरण सार्वजनिक गरेको छ। कार्यालयले राष्ट्रिय जनगणना २०७८ तथा नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० का तथ्यांकलाई आधार मानेर स्थानीय तहको गरिबी अवस्थाको विश्लेषण गर्दै यो वर्गीकरण तयार गरेको हो।

    सार्वजनिक तथ्यांकअनुसार तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका देशभरका स्थानीय तहहरूमध्ये कम गरिब भएका पालिकाको सूचीमा दशौँ स्थान मा पर्न सफल भएको छ। यो उपलब्धिलाई बन्दीपुरको सामाजिक–आर्थिक अवस्थाको सुधार, पूर्वाधार विकास र स्थानीय स्तरमा भएका दिगो कार्यक्रमहरूको सकारात्मक परिणामका रूपमा हेरिएको छ।

    राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गरिबी दर निर्धारण गर्दा आय, उपभोग, शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, सरसफाइ तथा रोजगारीजस्ता सूचकलाई समेटेर विश्लेषण गरिएको छ। यी सूचकका आधारमा बन्दीपुर गाउँपालिकामा गरिबीको दर तुलनात्मक रूपमा न्यून देखिएको हो।

    बन्दीपुरमा पर्यटन प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास, वैदेशिक रोजगारीबाट आएको विप्रेषणको सदुपयोग, शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार, तथा सडक, खानेपानी र विद्युत् जस्ता आधारभूत पूर्वाधारमा गरिएको लगानीले जीवनस्तर उकास्न सहयोग पुगेको छ।

    गाउँपालिकाले पछिल्ला वर्षहरूमा कृषि आधुनिकीकरण, उद्यमशीलता प्रवर्द्धन, महिला तथा युवालाई लक्षित सीपमूलक तालिम, सामाजिक सुरक्षा कार्यक्रम तथा लक्षित वर्गका लागि सहयोग कार्यक्रमलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।