एक करोडको लागतमा देवघाट पुस्तकालय भवन निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक करोडको लागतमा देवघाट पुस्तकालय भवन निर्माण

    प्रेमप्रसाद पाैडेल

    २८ पुष २०८२, मंगलवार

    दमौली, २९ पुस । तनहुँको देवघाट गाउँपालिका–५ मा रु एक करोडको लागतमा देवघाट सार्वजनिक पुस्तकालयको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । पुरानो भवन जीर्ण भइ धमिराका कारण पुस्तकहरूमा ठूलो क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो ।

    पुस्तकालयको पुरानो भवनमा धमिराले पुस्तकहरू नष्ट गर्न थालेपछि पछिल्ला तीन वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, देवघाटको भवनमा अस्थायी रूपमा पुस्तकालय व्यवस्थापन हुँदै आएको थियो ।

    बहुमूल्य तथा दुर्लभ पुस्तकको संरक्षण गर्न कठिनाइ भइरहेको अवस्थामा नयाँ भवन निर्माणले राहत मिलेको पुस्तकालय भवन निर्माण समितिका संयोजक शिवराज पौडेलले जानकारी दिए । उनका अनुसार भवन निर्माण सम्पन्न भए पनि व्यवस्थापकीय कामहरू अझै बाँकी रहेको छ ।

    देवघाट गाउँपालिका, गण्डकी प्रदेश सरकार, देवघाट–५ वडा कार्यालय, देवघाट क्षेत्र विकास समिति, विद्यापीठ, समुदायमा आधारित संघसङ्स्था, आश्रम, शिक्षाप्रेमी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण दाताहरूको आर्थिक सहयोगमा नयाँ पुस्तकालय भवन निर्माण गरिएको पौडेलले जानकारी दिए ।

    देवघाटधाममा अध्ययनअनुसन्धान गर्ने शोधकर्तालाई स्वतन्त्र रूपमा खोज, अनुसन्धान तथा अन्वेषण गर्न सहयोग पु¥याउने, धर्म, संस्कृति, रीतिरिवाज, भाषा, शैली र भेषभूषाको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको पौडेलको भनाइ छ । साथै पवित्र धार्मिकस्थल देवघाटधामको महिमालाई देश–विदेशमा प्रचारप्रसार गर्ने लक्ष्यसमेत पुस्तकालयको रहेको छ ।

    देवघाट वडा नम्बर ५ मा करिब दुई रोपनी १० आना क्षेत्रफलमा प्रकाश सापकोटा र मणि सापकोटाका दाजुभाइले निर्माण गरेको निजी घर धर्मशालाका रूपमा देवघाट क्षेत्र विकास समितिलाई समर्पण गरिएको थियो । सोही धर्मशालामा पुस्तकालय राख्ने सर्तमा विसं २०६२ सालदेखि पुस्तकालय स्थापना गरी सञ्चालन हुँदै आएको समितिले जनाएको छ ।

    निर्माण समितिका संयोजक पौडेलका अनुसार जनस्तरबाट अभियान सञ्चालन गरी साधु–सन्तहरूको सहयोगमा नयाँ भवन निर्माण गरिएको हो । आगामी वैशाख महिनादेखि नयाँ भवनबाट पुस्तकालय सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

    हाल पुस्तकालयमा दश हजारभन्दा बढी पुस्तकहरू रहेका छन् । जसमध्ये करिब ३५ प्रतिशत धार्मिक तथा आध्यात्मिक पुस्तक र बाँकी साहित्य, बालशिक्षा, दर्शनशास्त्रलगायत विभिन्न विधाका पुस्तकहरू रहेका छन् ।

    लामो समयदेखि धमिराको समस्या झेल्दै आएको पुस्तकालयका लागि आधुनिक तीनतले भवन निर्माण सम्पन्न भए पनि आवश्यक ¥याक, दराज, कम्प्युटर, कुर्सी–टेबल तथा अध्ययन कक्षको व्यवस्था अझै निर्माणकै चरणमा रहेको समितिले जनाएको छ । फर्निचर खरिद तथा व्यवस्थापनका लागि करिब रु २० लाख आवश्यक पर्ने व्यवस्थापन समितिका अध्यक्ष एवं महेश संस्कृत विद्यापीठका उपप्राध्यापक फडिन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

    नयाँ पुस्तकालय भवनमा देवघाटधामको महिमालाई देश–विदेशमा प्रचारप्रसार गर्न सुविधा सम्पन्न सूचना केन्द्र स्थापना गर्ने योजना समेत रहेको अध्यक्ष पौडेलले बताए ।