


दमौली, २९ पुस । तनहुँको म्याग्दे गाउँपालिका भित्र पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य सुरक्षा र गुणस्तरसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।
म्याग्दे गाउँपालिकाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँको सहकार्य र म्याग्दे उद्योग वाणिज्य संघको समन्वयमा सोमबार खाद्य स्वच्छता ऐन, नियम तथा गुणस्तर कार्यान्वयनसम्बन्धी अभिमुखीकरणसहितको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले व्यवसायको गुणस्तर अभिवृद्धि र व्यवसायीमा चेतना जगाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले खाद्य गुणस्तर सुनिश्चित गर्न सरोकारवालालाई लक्षित यस्ता कार्यक्रम सकारात्मक र आवश्यक रहेको उल्लेख गरे।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले होटल–रेष्टुरेन्ट व्यवसायले शान्ति, सुरक्षा र उपभोक्ता विश्वास कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यले राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, यसका प्रावधान, कसुर र सजाय, खाद्य अनुमति पत्र लिने व्यवस्था, स्थानीय, प्रदेश र संघीय तहको अधिकार तथा तीनै तहको समन्वयबाट मात्र प्रभावकारी सुधार सम्भव हुने विषयमा प्रशिक्षण दिएका थिए ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले होटल तथा रेष्टुरेन्ट व्यवसायीले नीतिगत, कानुनी र उपभोक्ता ऐनसम्बन्धी जानकारी राख्न आवश्यक रहेको बताए । तालिममा ६५ भन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो।
गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक वसन्तकुमार श्रेष्ठले राजमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको सन्दर्भमा व्यवसायीको मागअनुसार विज्ञमार्फत प्रशिक्षण दिइएको जानकारी दिए ।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीले व्यवसायीको हितका लागि संघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । होटल व्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गा विलास भट्टराईले खाद्य डिभिजनसँग सहकार्य गरी स्थानीय तहमा अनुगमन र प्रशिक्षण गर्दै आएको बताए ।
तालिम पश्चात मापदण्ड पूरा गर्ने होटललाई गुणस्तर चिन्ह प्रदान गरिने आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए। कार्यक्रममा अस्वाभाविक एमआरपी राख्ने, मूल्य सूची नराख्ने, अनुमति पत्र नलिने खाद्य उद्योग, फोहोर जारमा पानी भर्ने उद्योगजस्ता विषयमा समेत सचेतना गराइएको थियो।
