


दमौली, २९ पुस । दमौलीमा जारी छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा चर्चित गायक तथा सर्जक प्रकाश सपुतले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई भावनात्मक बनाएका छन्।
महोत्सवको मुख्य आकर्षणका रूपमा उपस्थित भएका सपुतले हृदय विदारक गीतदेखि दर्शकलाई नाच्न बाध्य बनाउने जोशिला गीतहरू प्रस्तुत गर्दा दमौलीको माहोल नै संगीतमय बनेको थियो। उनका प्रत्येक गीतमा दर्शकले ताली र स्वर मिसाउँदै साथ दिएका थिए।

कार्यक्रमका क्रममा सपुतले आफूले सधैँ खुसी र उत्साहका गीत गाउन चाहने इच्छा व्यक्त गरे पनि समाजका यथार्थ र जीवनका कठिन परिस्थितिले दुःखका गीत सिर्जना गर्न बाध्य बनाउने गरेको बताए। “दुःखका गीत गाउन नपरोस् भन्ने चाहना हुन्छ, तर समाजका पीडा, अन्याय र वास्तविकताले कलम चलाउन बाध्य बनाउँछ,” उनले भने।

उनले प्रस्तुत गरेका भावनात्मक गीतले दर्शकको मन छोएको थियो भने नाच्ने खालका गीतमा युवा पुस्ता मञ्चअगाडि उत्रिएर रमाएका थिए। गीत संगीतमार्फत सामाजिक सन्देश दिन सकिने विश्वास व्यक्त गर्दै सपुतले कलाले समाजलाई सही दिशा देखाउने भूमिका खेल्ने उल्लेख गरे।

छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव अन्तर्गत विभिन्न जातजातिका संस्कृति, भेषभूषा, खानपान र कला प्रस्तुत भइरहेका छन्। महोत्सवले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै मनोरञ्जनको माध्यमबाट सामाजिक एकता मजबुत बनाएको आयोजकले बताएका छन्।