


दमौली, ३ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँ–२ मा उज्यालो नेपालबाट मनराज उम्मेदवार बन्ने टुंगो लागेको छ। साविक नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएर उज्यालो नेपालमा आबद्ध भएका गुरुङलाई पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाउने भएको हो ।
गुरुङ शुक्लागण्डकी नगरपालिका–१२ का पूर्व वडाध्यक्षसमेत हुन्। स्थानीय तहमा रहँदा विकास निर्माण, सेवा प्रवाह र जनसम्पर्कमा सक्रिय भूमिका निर्वाह गरेका उनी सो क्षेत्रमा परिचित र विश्वासिलो अनुहारका रूपमा चिनिन्छन्। वडाध्यक्षको कार्यकालमा उनले युवालाई केन्द्रमा राखेर शिक्षा, पूर्वाधार, रोजगारी तथा सामाजिक अभियानमा जोड दिएको बताइन्छ।
परम्परागत राजनीतिक सोचभन्दा फरक, पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री शासन प्रणालीको पक्षमा उभिने उनले जनाएका छन्। युवाको ऊर्जा र नयाँ सोचलाई राजनीतिमा स्थापित गर्दै पुराना विकृतिहरू अन्त्य गर्ने आफ्नो मुख्य एजेन्डा रहेको गुरुङको भनाइ छ।
उम्मेदवार गुरुङले तनहुँ–२ लाई विकास, सुशासन र अवसरको केन्द्र बनाउने लक्ष्य राखेका छन्। स्थानीय समस्यालाई केन्द्रमा राखेर दीर्घकालीन समाधान खोज्ने, युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने तथा जनताको आवाजलाई संसदमा प्रभावकारी रूपमा उठाउने उनको प्रतिबद्धता रहेको छ।
