


दमौली, १० माघ । तनहुँ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार केदार सिग्देलले आफूलाई यस क्षेत्रका जनताका समस्याबारे जानकारी रहेकाे बताएका छन् । प्रेस चाैतारी तनहुँ शाखाले शनिबार दुलेगाैडामा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा सिग्देलले बाहिरबाट आएर राजनीति गर्ने व्यक्ति नभई यही माटोमा जन्मिएर हुर्किएको, जनताका समस्या नजिकबाट बुझेको व्यक्ति भएकाले चुनावमा आफूलाई जनताकाे साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।
“म टुरिष्ट होइन, यही माटोमा जन्मिएको हुँ। राजनीतिमा म आदिवासी हुँ,” सिग्देलले भने, “तनहुँ–२ का सबै वडा र टोल मलाई परिचित छन्। यहाँका जनताले भोगिरहेका समस्या, आवश्यकता र सम्भावनाबारे म पूर्ण जानकारी राख्छु।”
उनले जनतासँग प्रत्यक्ष सम्पर्कमा काम गर्दै आएको उल्लेख गर्दै। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषि र रोजगारीका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर दिगो विकासको खाका अघि सार्ने उनकाे भनाइ छ ।
एमाले उम्मेदवार सिग्देलले पार्टीको नीति, विचार र नेतृत्वले देशलाई स्थायित्व, विकास र सुशासनतर्फ लैजान सक्षम रहेको दाबी गर्दै आगामी निर्वाचनमा सबै वर्ग, समुदाय र क्षेत्रका जनताको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।
सांसदले बजेट बाँड्ने नभइ नीति बनाउने भएकाले आफू त्यसबारे जानकार रहेकाे उनले बताए । उनले सांसदको मुख्य भूमिका बजेट बाँडफाँट गर्नु नभई नीति निर्माण, कानुन निर्माण र सरकारलाई सही दिशामा मार्गदर्शन गर्नु हो भन्नेमा आफू प्रष्ट रहेको उल्लेख गरे । “सांसदले बजेट बाँड्ने होइन, नीति बनाउने हो,” उनले भने, “यस क्षेत्रकाे विकासका लागि सरकारलाई झकझकाउने हाे ।”
सिग्देलले साधा जीवन, उच्च विचारलाई आफ्नो राजनीतिक आचरणको आधार बनाउँदै जनताको प्रतिनिधिका रूपमा इमानदारी, जवाफदेहिता र पारदर्शितालाई प्राथमिकता दिने उल्लेख गरे।