


दमौली, १० माघ । सरस्वती पूजाको पावन अवसर पारेर मन्जिल राना नेतृत्वको टोलीले दमौलीका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय शैक्षिक संस्थाहरूको वर्तमान अवस्था बुझ्ने, शिक्षण–सिकाइ प्रक्रियामा देखिएका समस्या पहिचान गर्ने तथा शिक्षा सुधारका सम्भावनाबारे सरोकारवालासँग प्रत्यक्ष संवाद गरिएको हो ।
टोलीले अनुगमनका क्रममा शिक्षण संस्थाका प्रधानाध्यापक, क्याम्पस प्रमुख तथा सञ्चालकहरूसँग भेटघाट गर्दै विद्यालय क्षेत्रले भोग्दै आएका चुनौती, व्यवस्थापकीय समस्या तथा दीर्घकालीन सम्भावनाबारे विस्तृत छलफल गरेको थियो। भेटघाटमा शिक्षा क्षेत्रमा देखिएको प्रतिस्पर्धा, विद्यार्थी संख्या घट्दो अवस्था, गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार तथा दक्ष जनशक्तिको आवश्यकता जस्ता विषयमा खुलेर विचार आदान–प्रदान भएको थियो।
अनुगमन तथा छलफल गरिएको शिक्षण संस्थाहरूमा दमौली मोडेल एकेडेमी, दमौली कलेज, पराशर कलेज, ज्ञानगंगा विद्यालय, तनहुँ तक्षशिला एकेडेमी, इन्द्रेनी बोर्डिङ स्कुल तथा मनकामना बोर्डिङ स्कुल रहेका छन्। टोलीले प्रत्येक संस्थामा पुगेर कक्षा सञ्चालनको अवस्था, भौतिक संरचना, शैक्षिक वातावरण तथा विद्यार्थी सहभागिताबारे समेत जानकारी लिएको थियो।
छलफलका क्रममा सरोकारवालाहरूले शैक्षिक गुणस्तर सुधार, आधुनिक प्रविधिको प्रयोग, शिक्षकहरूको क्षमता विकास, विद्यार्थीमैत्री वातावरण निर्माण तथा अभिभावकसँगको सहकार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए। साथै सरकारी नीति, अनुगमन प्रणाली र स्थानीय तहको भूमिका अझ प्रभावकारी हुनुपर्ने सुझाव पनि प्रस्तुत गरिएको थियो।
टोलीले अनुगमनका क्रममा प्राप्त सुझाव, गुनासा तथा सिफारिसहरूलाई व्यवस्थित रूपमा संकलन गरी आगामी दिनमा सम्बन्धित निकाय, स्थानीय तह तथा सरोकारवाला पक्षसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। शिक्षा क्षेत्रको समग्र सुधारका लागि निरन्तर संवाद, सहकार्य र पहल आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले स्थानीय शिक्षा प्रणाली सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
