


दमौली, १० माघ । रोटर्याक्ट क्लव अफ दमौलीले आज आयोजना गरेको स्व. सचिन स्मृति खुल्ला दौडको उपाधिको म्यानमार सिन्की तामाङले जितेका छन् । क्लवका संस्थापक सहसचिव सचिनको स्मृतिमा क्लवले व्यास नगरपालिका–३ प्रशासनचोकदेखि व्यास नगरपालिका–१४ छाब्दी वाराही मन्दिरसम्मको नौ किलोमिटर दौड २७ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै तामाङले उपाधि जितेका हुन् ।
प्रतियोगितामा कृष्णबहादुर परियार द्वितीय र सनम गुरुङ तृतीय भएका छन् । उनीहरुले क्रमशः उक्त दूरी ३० मिनेट १३ सेकेण्ड र ३१ मिेनट १४ सेकेण्डमा पूरा गर्नुभएको क्लवका अध्यक्ष गोविन्द तिमिल्सिनाले जानकारी दिए ।
उनीहरुले क्रमशः जनही रु १५ हजार पाँच सय, रु १२ हजार पाँच सय रु आठ हजार पाँच सय नगद पुरस्कार प्राप्त गएको छ ।
यस्तै महिलातर्फ उमादेवी गुरुङ विजेता भइन् । उनले उक्त दूरी ४८ मिनेट १४ सेकेण्डमा पूरा गरिन् । बालकधावकतर्फ सौरव अर्याल विजयी भए । उनले एक घण्टा २७ मिनेटमा उक्त दूरी पूरा गरेकाे क्लवले जनाएको छ । महिला धावकलाई रु एक हजार पाँच सय र बाल धावकलाई पनि रु एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको छ ।
विजेताहरुलाई व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै सामाजिक काममा क्लवले पु¥याएको योगदान सकारात्मक रहेको चर्चा गरे ।
