


दमौली, ११ माघ । लियो क्लब अफ तनहुँले लियो अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवले माघ १४ र १५ गते तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा व्यास नगरपालिकाभित्र +२ तह सञ्चालनमा रहेका १८ माध्यमिक विद्यालय सहभागी हुने क्लवका अध्यक्ष रोविन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछन् । जसमा सामान्य ज्ञान, खेलकुद, राजनीति–कानून, स्थानीय तह, विज्ञान–प्रविधि, भूगोल, नेपालको इतिहास, लायन्स–लियो र स्वास्थ्य–जनसंख्या सम्बन्धी विषय समावेश गरिनेछ। साथै, र्यापिड फायर र भिजुअल राउन्ड पनि हुनेछन्।
प्रतियोगितामा प्रथम हुने टोलीले रु १५ हजार, द्वितीयले रु दश हजार र तृतीयले रु पॉच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
लियो क्लब अफ तनहुँले विद्यालय, विद्यार्थी, अभिभावक र सञ्चारकर्मीको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ।
