


दमौली, २१ माघ । सिद्धार्थ हस्पिटालिटीको २८ औँ वार्षिकोत्सवको अवसरमा दमौलीस्थित सिद्धार्थ होटलले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै व्यास नगरपालिका–५ पाटनमा रहेको परोपकार ज्येष्ठ नागरिक आश्रमका वृद्धवृद्धालाई भोजन सहयोग गरेको छ । बुधबार आयोजना गरिएको कार्यक्रममा आश्रमका २४ जना ज्येष्ठ नागरिकलाई भोजन गराइएको हो ।
वार्षिकोत्सवलाई केवल उत्सवमा सीमित नराखी समाजप्रति उत्तरदायी बन्ने उद्देश्यसहित होटलले उक्त कार्यक्रम आयोजना गरेको होटल व्यवस्थापनले जनाएको छ । ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक भोजन गराउँदै उनीहरूसँग समय बिताउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ ।
सिद्धार्थ हस्पिटालिटीको २८ औँ वार्षिकोत्सवको अवसरमा दमौलीस्थित सिद्धार्थ होटलले यस बाहेक पनि विभिन्न सामाजिक कार्यक्रम गर्ने जानकारी दिएको छ।
