एडीबीको दक्षिण एशिया विभागको महानिर्देशकमा तनहुँ बन्दीपुरकी सोना श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एडीबीको दक्षिण एशिया विभागको महानिर्देशकमा तनहुँ बन्दीपुरकी सोना श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०८२, बिहीबार

    काठमाडौ, २९ माघ । एशियाली विकास बैंक (एडीबी) ले नेपाली नागरिक सोना श्रेष्ठलाई आफ्नो दक्षिण एशिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ। अब उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति तथा कार्यक्रमहरूको नेतृत्व गर्नेछिन्।

    तनहुँ जिल्लाको बन्दीपुर गाउँकी सोना श्रेष्ठको यो नियुक्तिलाई नेपालका लागि ऐतिहासिक र गौरवपूर्ण उपलब्धि मानिएको छ। अन्तर्राष्ट्रिय वित्तीय संस्थाको उच्च नेतृत्व तहमा नेपाली महिलाको यो उपस्थिति विश्वमञ्चमा नेपालको प्रतिष्ठा बढाउने उपलब्धिका रूपमा हेरिएको छ।

    नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन्, “दक्षिण एशियाको महानिर्देशकमा नियुक्त हुन पाउँदा म सम्मानित महसुस गरिरहेकी छु। क्षेत्रका सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासका लागि एडीबीको भूमिकालाई अझ प्रभावकारी बनाउने मेरो लक्ष्य हुनेछ।”

    श्रेष्ठसँग विकास क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ, जसमा २३ वर्ष एडीबीमै कार्य अनुभव समावेश छ। यसअघि उनी दक्षिण एशिया विभागकी उपमहानिर्देशक थिइन्। उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागमा उपमहानिर्देशक, दक्षिणपूर्वी एशियाको वित्तीय क्षेत्र तथा व्यापार विभागमा निर्देशक तथा इन्डोनेसियाका लागि उपदेश निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेकी छन्।

    उनले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि र स्नातकोत्तर तथा स्मिथ कलेज, म्यासाचुसेट्सबाट स्नातक अध्ययन गरेकी छन्। मध्य एशिया, दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका विकास परियोजनामा उनले व्यापक अनुभव हासिल गरेकी छन्।

    १९६६ मा स्थापना भएको एशियाली विकास बैंक ६९ सदस्य राष्ट्रहरूको स्वामित्वमा रहेको बहुपक्षीय विकास बैंक हो, जसले एशिया–प्रशान्त क्षेत्रमा दिगो, समावेशी र सबल आर्थिक विकासका लागि वित्तीय सहयोग र साझेदारी गर्दै आएको छ।

    सोना श्रेष्ठको यो नियुक्तिले नेपाली महिलाको अन्तर्राष्ट्रिय नेतृत्व क्षमताको उदाहरण प्रस्तुत गर्नुका साथै विश्व विकास संस्थाहरूमा नेपाली प्रतिभाको प्रभावशाली उपस्थितिलाई थप उजागर गरेको छ।