


दमौली, २९ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फागुन २ गते हुने बहुप्रतीक्षित नेपथ्य कन्सर्टको तयारी सुरु भएको छ। कन्सर्टका लागि बन्दीपुरस्थित टुडिखेलमा मञ्च निर्माणको काम धमाधम अगाडि बढाइएको आयोजकले जनाएको छ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङसहित उनको टिम बन्दीपुर आइसकेको छ। प्राविधिक टोलीले ध्वनि, प्रकाश तथा सुरक्षासम्बन्धी व्यवस्थापनमा विशेष ध्यान दिँदै तयारीलाई तीव्रता दिएको छ।
आयोजकका अनुसार कन्सर्टलाई व्यवस्थित र भव्य बनाउन स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकको सहकार्यमा तयारी भइरहेको छ। कन्सर्टमार्फत बन्दीपुरको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
नेपथ्यको प्रस्तुति हेर्न आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ।