


दमौली, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले दमौलीको ऐतिहासिक विरासत, लोकतान्त्रिक पहिचान र आधुनिक विकासको गतिलाई उचाइमा पुर्याउन ‘बदलिएको कांग्रेस’को विजय अनिवार्य रहेको बताएका छन् ।
व्यास नगरपालिका–२ स्थित चुनावी प्रचारप्रसार कार्यालयको मङ्गलबार उद्घाटन गर्दै नेता भट्टराईले कांग्रेस अब नयाँ ऊर्जा, परिष्कृत सोच र जनउत्तरदायी कार्यशैलीका साथ जनताको घरदैलोमा आएको उद्घोष गरे ।
“दमौली केवल एउटा व्यापारिक केन्द्र मात्र होइन, यो नेपाली लोकतान्त्रिक आन्दोलनको एउटा जीवन्त धरोहर पनि हो,” नेता भट्टराईले सम्बोधनका क्रममा भने, “२००७ सालदेखि २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनसम्म दमौलीले नेतृत्वदायी भूमिका खेल्यो। यो गौरवशाली इतिहासलाई थप उजिल्याउन र वर्तमानको विकासलाई भविष्यसँग जोड्न यसपटक कांग्रेसलाई मत दिनुको विकल्प छैन ।”
