


दमौली, ५ फागुन । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपालाई बहुमत दिएर पॉच वर्ष परीक्षण गर्न आग्रह गरेका छन् ।
दमौलीमा मंगलबार मुस्लिम समुदायसँगको भेटघाट कार्यक्रममा उनले विगतका सरकारहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अब स्थिर र परिणाममुखी सरकार आवश्यक रहेको बताए। “हामीलाई पाँच वर्षका लागि स्पष्ट बहुमत दिएर परीक्षण गर्नुस्,” उनले भने, “भ्रष्टाचार अन्त्य, सुशासन कायम र सेवा प्रवाहमा सुधार हाम्रो प्राथमिक लक्ष्य हो।”
डा. वाग्लेले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न संख्यात्मक बल आवश्यक पर्ने उल्लेख गरे। “२१ सिटे पार्टी भएर ठूला संरचनात्मक सुधार सम्भव हुँदैन,” उनले भने, “नयाँ ऐन बनाउन, खराब ऐन संशोधन गर्न र कार्यान्वयनमा कडाइ गर्न बहुमत चाहिन्छ।”
उनले प्रशासनिक सुधार, पारदर्शिता, डिजिटल प्रणालीमार्फत सेवा प्रवाह, र युवालाई रोजगारी सिर्जना गर्ने नीति अघि सार्ने प्रतिबद्धता व्यक्त गरे। साथै, सबै समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासमा जोड दिने बताए।
डा. वाग्लेले सबै समुदायसँग सहकार्य गर्दै नीति निर्माणमा सुझाव समेट्ने प्रतिबद्धता जनाउँदै भने, “बहुमत बिना काम गर्न सकिँदैन, त्यसैले स्पष्ट जनादेश हाम्रो आवश्यकता हो।”
