


दमाैली, १८ चैत । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नं. ५ निवासी ३४ वर्षीय मीन बहादुर कुमाललाई हेल्पिङ ह्याण्ड्स टिमले सहयोग प्रदान गरेको छ।
विगत ९ वर्षदेखि रक्त क्यान्सरबाट पीडित कुमालको आर्थिक अवस्था कमजोर बन्दै गएपछि उनको परिवारलाई दैनिक जीवनयापनमा कठिनाइ भइरहेको अवस्थामा टिमले राहत स्वरूप खाद्यान्न सामग्री उपलब्ध गराएको हो।
सहयोग हस्तान्तरण गर्दै टिमका सदस्यहरूले मानवीय सेवाभावका साथ गरिएको सानो प्रयासले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सहयोग सानो वा ठूलोभन्दा पनि आवश्यकता परेको बेला साथ दिनु महत्वपूर्ण हुने बताएका छन्।