


दमाैली, १४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका रुपमा विकास गर्नुपर्ने बताएका छन् । भानु नगरपालिका–४ चुँदीरम्घामा आज भानु साहित्य उद्यानको शिलान्यास पछि सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए। “भानुभक्तकै कारण हामी नेपालीको रुपमा परिचित भएका हौं,” राष्ट्रपति पौडेलले भने।
उनले भाषा एकताको आधार भएको भन्दै भानुभक्तको जन्मभूमि चुँदीरम्घालाई नेपाली भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, भानु साहित्य उद्यान निर्माणले यस क्षेत्रलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले साहित्य उद्यानलाई राष्ट्रिय एकताको केन्द्र बनाउनुपर्ने बताए। लामो समयदेखि प्रयास सार्थक हुने चरणमा पुगेको बताउँदै उहॉले यसलाई सहयोग गर्न सबैलाई अपिल गरे ।
तनहुँ-२ का सांसद श्रीराम न्यौपानेले सुशासन र कानुनी आधार बलियो बनाउँदै विकास तीव्रतर रुपमा अगाडी बढाउन सरकार प्रतिबद्ध रहेको बताए। गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले भानु साहित्य उद्यान साहित्यिक पर्यटनको केन्द्र बन्ने बताए ।
स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब रु एक अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट रु २० करोड बजेट विनियोजन भइसकेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।