


दमौली, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा तीव्र गतिको हावाहुरी र वर्षा भएको भन्दै जिल्लावासीहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज दिउँसादेखि भोलि बिहान ६ः४५ बजेसम्म हावाहुरी र वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले सूचना जारी यसअवधिमा मेघगर्जन, चट्याङ, असिना तथा वर्षासहित हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्क अपनाउन आग्रह गरेका छन् ।
हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेकाले यसलाई मध्यनजर गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, अनावश्यक यात्रा नगर्न तथा सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरिएको छ ।
त्यस्तै, आगो बाल्दा विशेष सावधानी अपनाउन, विद्युतका तार तथा पोलबाट टाढा रहन, अग्ला रुख नजिक नबस्न र हावाले उडाउन सक्ने सामग्रीबाट जोगिन आग्रह गरिएको छ ।
कुनै पनि विपद्जन्य घटना भएमा नजिकको प्रहरी इकाइ, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय (९८५६०६७७७७), जिल्ला प्रहरी कार्यालय (९८५६०६५५५५) तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (९८२७१९००८६÷९८४६५६४२४४) मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।