


दमौली, १९ वैशाख । तनहुँको व्यास नगरपालिकाले विद्यालयमा नियमित शैक्षिक गतिविधि प्रभावकारी बनाउन हप्तामा ६ दिन कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।
विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै संघीय सरकारको हिउँदे तथा बर्खे बिदासम्बन्धी अन्तिम निर्णय नआएसम्म हाललाई हप्तामा ६ दिन कक्षा सञ्चालन गर्न व्यास नगरपालिकाले अनुरोध गरेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले शनिबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘हाल कायम रहेको ५० दिने हिउँदे बिदा, बर्खे बिदा, आइतबार बिदा तथा अन्य सार्वजनिक बिदाका कारण अध्यापन समय घट्ने र हप्तामा ६ दिन पढाइ हुँदा ३३ घण्टा मात्र कक्षा सञ्चालन हुने, तर ५ दिनमा झर्दा २७ घण्टा मात्र हुने अवस्था देखिएको छ ।’
नेपाल सरकारले २१ गतेदेखि पढाइ सञ्चालन गर्ने गरी १५ गतेदेखि मात्र भर्ना अभियान सुरु गर्न निर्देशन दिएको सन्दर्भमा नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघले उक्त निर्णय पुनर्विचार गर्न शिक्षामन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाइसकेको पृष्ठभूमि पनि नगरपालिकाले उल्लेख गरेको छ । सो विषयमा संघीय सरकारले केही दिनभित्र आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच केही प्रधानाध्यापकहरूले आइतबार बिदा लागू गर्न माग गरेको विषयमा बिहीबार शिक्षा समिति, प्रधानाध्यापक, शिक्षक महासंघ तथा प्याब्सन, एन प्याब्सनका प्रतिनिधिहरूबीच व्यापक छलफल भएको थियो ।