


दमौली, २३ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा ऑबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई स्मार्ट बोर्ड सहयोग गरिएको छ । वाग्लेको पहलमा वल्डलिंक कम्युनिकेशन लिमिटेडे चार थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आँबुखैरेनीको सक्रियतामा प्राप्त उक्त सहयोगअन्तर्गत चारवटा विद्यालयलाई एक/एक थान स्मार्ट बोर्ड उपलब्ध गराइएको हो । सो सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले बुधबार गाउँपालिकाका शिक्षा अधिकृत निर्मला कुँवरलाई हस्तान्तरण गरेका छन् ।
स्मार्ट बोर्डले विद्यालयमा डिजिटल शिक्षण प्रणाली विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने शिक्षा अधिकृत कुवंरले बताइन् । स्थानीय तहमा प्रविधिमैत्री शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त सहयोग गरिएको रास्वपा सभापति बास्तोलाले बताए ।