तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८३, बिहीबार

    दमौली, २४ वैशाख । तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बुधबार बसेको जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवालाको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गर्ने र विवरण अद्यावधिक भए अनुसारको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय गरेको छ ।

    जिल्लास्थित सबै स्थानीय तह, सरकारी तथा सार्वजनिक निकायहरुले उक्त काम गर्ने निर्णय भएको छ ।

    जिल्लामा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घरपरिवारहरुमध्ये को वास्तविक सुकुम्बासी हुन् र को होइनन् भन्ने पहिचान सम्बन्धित स्थानीय तहले गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

    उनका अनुसार वास्तविक पहिचान गरिएका सुकुम्बासीलाई तत्काल अन्यत व्यवस्थापन (सुरक्षित आवास, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधी उपचार तथा परामर्श, महिला तथा अपाङ्गतामैत्री आवास कक्ष, सुरक्षा प्रबन्ध लगायतको तयारी सम्बन्धित स्थानीय तहहरुले गर्ने निर्णय भएको छ ।

    यस्तै वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने योजना सहित आवश्यक सुरक्षा प्रबन्धका लागि स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यालयमा माग गर्न सक्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँगको समन्वयमा जग्गाको अतिक्रमण हटाउन आवश्यक सुरक्षाको प्रबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

    प्रजिअ तिवारीले जिल्लास्थित विभिन्न स्थानमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाइने बताए । अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा हटाउने कार्यका लागि सम्बन्धित निकायबाट गरिने कार्यका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट आम जनतालाई सुसुचित गराइने उनले बताए ।