


दमौली, २८ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षमा मोडिफाई गरी नियमविपरीत सञ्चालन गरिएका मोटरसाइकलमाथि कडाइ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको समन्वयमा गरिएको विशेष अनुगमनका क्रममा १९ वटा मोडिफाई मोटरसाइकललाई कारबाही गरिएको हो ।
कारबाहीमा परेका मोटरसाइकललाई यातायात व्यवस्था कार्यालय डुम्रे, तनहुँमार्फत जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक प्रदीप थापाले बताए । उक्त कारबाहीबाट हालसम्म रु १ लाख ३० हजार २ सय राजस्व सङ्कलन भएको छ।
ट्राफिक प्रहरीले सवारी साधनलाई अत्यधिक आवाज आउने गरी मोडिफाई गर्ने, नम्बर प्लेट परिवर्तन गर्ने तथा नियमविपरीत संरचना फेरबदल गर्ने कार्यले दुर्घटनाको जोखिम बढाउने भएकाले निगरानीलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सवारी साधन मोडिफाई गरी चलाउनेमाथि आगामी दिनमा समेत निरन्तर कारबाही गरिने प्रहरीले जनाएको छ ।