


दमौली, २९ वैशाख । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । तनहुँको देवघाट गाउँपालिका–४ मा जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले उक्त कार्यका लागि आर.के. हाइड्रो इन्जिनियरिङ एन्ड एसोसिएट्स प्रालि काठमाडौसँग ठेक्का सम्झौता गरेको छ ।
विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण कार्य केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । आवश्यक स्वीकृति प्राप्त भएपछि हाल सुरुङ निर्माण कार्य सुरु गरिएको उनले बताए ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार प्रवेश सुरुङ आयोजनाको मुख्य संरचना निर्माणका लागि आवश्यक भूगर्भीय अध्ययन, अन्वेषण तथा पहुँच मार्गका रूपमा अत्यन्त महत्वपूर्ण रहनेछ ।
तल्लो सेती जलविद्युत आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धजलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाबाट वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।
उनका अनुसार आयोजनाको बाँध तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ । बाँधको उचाइ ३२ मिटर रहनेछ भने यसबाट करिब १२ दशमलव ७ किलोमिटर लामो जलाशय निर्माण हुनेछ । सञ्चित पानीलाई ६ दशमलव ७५ किलोमिटर लामो सुरुङमार्फत देवघाट गाउँपालिका–४, गाईघाटस्थित अर्धभूमिगत विद्युतगृहमा पु¥याइने योजना रहेको उनले बताए ।
श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैङ्कको अनुदान सहयोगमा तयार गरिएको हो । आयोजनाको अनुमानित कुल लागत २२७ मिलियन अमेरिकी डलर रहेको उल्लेख गर्दै उहाँले कुल लागतको ३० प्रतिशत स्वपुँजी तथा ७० प्रतिशत ऋण मार्फत आयोजना निर्माण गर्ने अवधारणागत निर्णय नेपाल विद्युत प्राधिकरणबाट भइसकेको जानकारी दिए ।
श्रेष्ठले विद्युतगृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको जानकारी दिए । नेपाल विद्युत प्राधिकरणबाट आवश्यक बजेट विनियोजन भएपछि उक्त प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
आयोजनाको राष्ट्रिय महत्त्वबारे प्रकाश पार्दै श्रेष्ठले आयोजना सञ्चालनमा आएपछि हिउँदयाममा समेत दैनिक न्यूनतम ६ घण्टा १२६ मेगावाट विद्युत उत्पादन गर्न सकिने बताए । यसले भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्थालाई उल्लेखनीय रूपमा घटाउन सहयोग पुग्ने उनको भनाइ छ ।
उनले माथिल्लो क्षेत्रमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको जलाशयबाट निस्कने पानीको पूर्ण उपयोगका लागि तल्लो सेती आयोजना महत्वपूर्ण “क्यास्केड” आयोजना भएको बताए । यस्ता आयोजनामा सरकारले प्राथमिकतासाथ पर्याप्त बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनले औल्याए ।
श्रेष्ठका अनुसार तनहुँ जलविद्युत आयोजनाकै प्रसारण लाइन प्रयोग गर्न सकिने भएकाले थप प्रसारण पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पर्दैन । साथै आयोजना काठमाडौं र भरतपुरजस्ता प्रमुख लोड सेन्टर नजिक रहेकाले यो आयोजना लागत प्रभावी तथा व्यावसायिक दृष्टिले समेत उपयुक्त रहेको उनले बताए ।
ग्रिड कनेक्सन सम्झौता सम्पन्न भइसकेको तथा विद्युत खरिद सम्झौता प्रक्रियामा रहेको जानकारी दिँदै श्रेष्ठले देवघाट गाउँपालिका–४, स्थित विद्युतगृह तथा कर्मचारी आवास क्षेत्रमा पहुँच सुनिश्चित गर्न त्रिशूली नदीमाथि पक्की पुल निर्माण अपरिहार्य रहेको बताए । उक्त पुल निर्माणको अनुमानित लागत करिब रु ३७ करोड रहेको र त्यसका लागि बहुवर्षीय बजेट व्यवस्था आवश्यक पर्ने उनले बताए ।
उनले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम स्वीकृतिका लागि वन मन्त्रालयमा दस्तुर बुझाइसकिएको जानकारी दिँदै जापान अन्तर्राष्ट्रिय सहयोग नियोगसँग वित्तीय सहयोगका लागि पहल भइरहेको बताए । साथै एडीबीबाट सन् २०२७ मा आयोजनाको कार्यान्वयन गर्न पाइपलाइनमा राखेको उनले जानकारी दिए ।