५० लाख मत आयो भन्दैमा दंग नपरौं : कुमार खड्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ५० लाख मत आयो भन्दैमा दंग नपरौं : कुमार खड्का

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८३, शुक्रबार

    दमाैली १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी का नेता कुमार खड्का ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त अभूतपूर्व जनमतलाई आत्मसन्तुष्टिको आधार नबनाउन पार्टी पंक्तिलाई सचेत गराएका छन् । उनले आगामी स्थानीय तह निर्वाचनमा सफलता हासिल गर्न अहिलेबाटै जनताको विश्वास जित्ने गरी संगठन र जनसम्पर्कमा केन्द्रित हुनुपर्ने बताए।

    रास्वपा व्यास नगर समितिको शुक्रबार यहाँ आयोजित अधिवेशनलाई सम्बोधन गर्दै खड्काले पार्टीमाथि सदन र सडक दुवैबाट आक्रमण भइरहेको उल्लेख गर्दै चुनौतीबीच पनि संयमित र जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे।

    “प्रतिनिधिसभा निर्वाचनमा ५० लाख मत प्राप्त गर्‍यौं भन्दैमा स्थानीय तह निर्वाचनमा पनि त्यही परिणाम दोहोरिन्छ भन्ने सोच्नु गलत हुन्छ,” उनले भने, “जनताको अभूतपूर्व समर्थन पायौं भनेर खुसी हुने समय होइन, अब त्यसलाई जोगाउने र अझ विस्तार गर्ने समय हो।”

    खड्काले छोटो अवधिमा राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति बनाउन सफल भएको रास्वपाले अब व्यवहार, कार्यशैली र जनतासँगको सम्बन्धमार्फत आफ्नो विश्वसनीयता थप मजबुत बनाउनुपर्ने बताए । “२ लाख सदस्य भएको पार्टीले ५० लाख मत प्राप्त गर्नु ठूलो उपलब्धि हो,” उनले भने “तर यसले हामीलाई उत्साहित मात्र होइन, अझ बढी जिम्मेवार बनाएको छ।”

    उनले आगामी स्थानीय तह निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित जनताको घरदैलोमा पुग्न, जनजीविकाका सवाल उठाउन र संगठनलाई अझ सुदृढ बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

    जिल्ला सभापति विश्व बास्तोलाले रास्वपा अहिले जनताको भरोसायोग्य शक्तिका रूपमा स्थापित हुँदै गएको बताए। उनले पुराना राजनीतिक दलप्रति निराश बनेका नागरिकले रास्वपामाथि आशा व्यक्त गरिरहेको उल्लेख गर्दै जनविश्वासलाई कायम राख्नु पार्टीको सबैभन्दा ठूलो जिम्मेवारी भएको धारणा राखे ।

    तनहुँ १ का संयाेजक विष्णु पन्तले पार्टीका नेता तथा कार्यकर्ताले मनमा इमानदारिता र काँधमा जिम्मेवारी बोकेर अघि बढ्नुपर्ने बताए ।

    व्यास नगर सभापति चुडामणि दाहालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँ सभापति मनाेज अधिकारी, व्यास-११ का सभापति झलक पाैडेल लगायतले बाेलेका थिए ।