


दमौली, १६ जेठ । व्यास नगरपालिका–१ स्थित अकला सामुदायिक सिकाइ केन्द्रले वडाभित्रका विभिन्न टोल विकास संस्थाका अध्यक्ष, आमा समूहका अध्यक्ष तथा बाल क्लबका अध्यक्षहरूका लागि दुईदिने प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ।
जेठ १५ र १६ गते सञ्चालन गरिएको तालिममा नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका प्रशिक्षकद्वय कृष्णचन्द्र पाण्डे र रामदत्त पौडेलले प्रशिक्षण दिएका थिए। तालिममा दुर्घटनामा घाइते भएका व्यक्तिलाई तत्काल कसरी सहयोग गर्ने, घाँटीमा कुनै वस्तु अड्किँदा अपनाउनुपर्ने उपाय, हृदयघातको अवस्था, चोटपटक तथा रक्तश्राव हुँदा गर्नुपर्ने प्राथमिक उपचारलगायत विषयमा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले यस्ता कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र दुर्घटना वा आकस्मिक स्वास्थ्य समस्यामा परेका व्यक्तिको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता कार्यक्रम सञ्चालनमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
तालिमको समापन कार्यक्रम शिक्षा शाखाका अधिकृत नवीन पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
सिकाइ केन्द्रका अध्यक्ष राम गन्धर्वको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका कानुनी सदस्य डम्बरदेव हड्खलेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन परिचारिका कल्पना हड्खलेले गरेकी थिइन्।