


दमौली, २० जेठ । ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्य करिब ५० प्रतिशत सकिएको छ ।
बाँध निर्माणका लागि कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार एक सय २० घनमिटर कङ्क्रिट गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको उनले बताए । बाँधमा कङ्क्रिट राख्ने कार्य निरन्तर जारी रहेकाले आगामी दिनमा निर्माण प्रगति थप तीव्र हुने अपेक्षा गरिएको उनले बताए ।
१४० मिटर उचाइको यो बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।
प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण कार्य सम्पन्न भएको छ ।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सम्पन्न गर्नुका साथै दुवै किनारमा अवस्थित ग्राउटिङ टनेल आठ वटा तथा एबटमेन्ट उत्खनन् कार्य सम्पन्न भएको भण्डारीले बताए । मुख्य बाँधको कङ्क्रिटिङ कार्य विसं २०८१ चैत ७ गतेदेखि सुरु भएको हो ।