छुवाछूत उन्मूलनमा सबै समुदायको साझा भूमिका आवश्यक : राष्ट्रिय सभा सचेतक परियार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छुवाछूत उन्मूलनमा सबै समुदायको साझा भूमिका आवश्यक : राष्ट्रिय सभा सचेतक परियार

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८३, बिहीबार

    दमौली, २१ जेठ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा भानु नगरपालिकाले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

    भानु नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका सचेतक पदम परियारले जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि दलित समुदाय मात्र नभई सम्पूर्ण समाजको सक्रिय सहभागिता आवश्यक रहेको बताए । समुन्नत, सभ्य र समतामूलक समाज निर्माणका लागि गैरदलित समुदाय पनि समान रूपमा अग्रसर हुनुपर्ने उनको भनाइ थियो।

    कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले कानुनी रूपमा छुवाछूत उन्मूलन घोषणा भए पनि व्यवहारिक रूपमा समाजमा अझै जातीय विभेदका विभिन्न स्वरूप कायम रहेको बताए। उनले विभेदमुक्त समाज निर्माणका लागि चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

    भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले पालिकालाई पूर्ण रूपमा छुवाछूतमुक्त बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै समावेशी र समानतामूलक समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

    प्रशिक्षक चिजकुमार सुर्खालीले नेपालको संविधान तथा विद्यमान कानुनले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराधका रूपमा व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गरे । उनले कानुनी व्यवस्थाको व्यवहारिक प्रयोग र कार्यान्वयनलाई थप सशक्त बनाउन राज्यका निकायहरू जिम्मेवार हुनुपर्ने धारणा राखे।

    वडा अध्यक्षहरूको तर्फबाट भानु–४ का वडा अध्यक्ष अर्जुन बहादुर बोहराले आफूले व्यक्तिगत रूपमा छुवाछूत नमान्ने र जागिरको क्रममा दलित समुदायका व्यक्तिलाई भान्छेको जिम्मेवारीसमेत दिएको अनुभव सुनाउँदै व्यवहारबाटै विभेद अन्त्य गर्नुपर्ने बताए । ।

    कार्यक्रममा जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कानुनी व्यवस्था, सामाजिक उत्तरदायित्व र समुदायस्तरीय पहलका विषयमा प्रशिक्षक पूर्ण विकेले सहजीकरण समेत गरेका थिए ।